काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक आइतबारका लागि तय भएको थियो । तर आइतबार पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो ।
माओवादी स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । पदाधिकारीसँग संवादपछि स्थायी समिति बैठक बस्ने भनिएको थियो ।
तर तेस्रो पटक पनि समय निर्धारण भइसकेको अवस्थामा बैठक स्थगित भएको छ । यो बैठकमा अध्यक्ष दाहालले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ ।
त्यसैगरी बैठकले माओवादीले हाल कार्यान्वयनमा ल्याएका भौगोलिकसहित १० वटै प्रदेशमा इन्चार्ज तोक्ने तयारी गरेको थियो । तर गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको हो ।
अब यो बैठक आगामी मंगलबार मात्रै बस्ने भएको छ । माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।