काठमाडौँ, ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई नैतिकता नभएको मन्त्रीका रुपमा टिप्पणी गरेका छन् ।
पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ मात्र केन्द्रित भएको बताए ।
‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने’, ओलीले भने, ‘दोषी मन्त्री हो भनेर आयोगले भनेको छ ।
यस्तो बेला नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री ।’ उनले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? भन्दै प्रश्न गरे ।
त्यस्तै अध्यक्ष ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको पनि दाबी गरे ।














