जनकपुरधाम, ४ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव फागुन ६ गते आइतबार विश्वासको मत लिने भएको छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रीय सत्ता गठबन्धन सहमत भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।
माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।
अगामी फागुन ९ गतेभित्र विश्वासको लिइसक्नु पर्नेछ । मधेश प्रदेश सभामा अहिले कायम रहेको १ सय ७ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत पार्टीका ७, स्वतन्त्रका ३, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका १ जना सदस्य रहेका छन् ।