सुनसरी, २९ माघ । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी जाँचका क्रममा ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित एकजना भारतीय पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले पूर्वपश्चिम लोकमार्गमा सवारी जाँच गर्दा सुनसरी खोलाको पुलनजिक सेतो रंगको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल १ करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको जनाएको छ ।
सोमवार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।