रौतहट, २८ माघ । रौतहट जिल्ला अदालतले मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।
राजपुर बम काण्डका आरोपी आलम यो मुद्दामा ०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् । यो मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गरेका थिए ।
त्यस्तै, बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए ।
०६४ सालमा संविधानसभाको चुनावका बेला आलमको चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ ।