जनकपुरधाम, २७ माघ । व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भनेका छन ।
हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको थापाले बताए ।
शनिवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।
थापाले भने, संविधान र संसदको नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ’ ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ ।
हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौं । उनले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे ।
अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । अध्यक्ष थापाले आफूहरुले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्र्र्रजातान्त्रिक व्यवस्था कुरा गरेको बताए ।