काठमाडौँ, १९ माघ । घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।
विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार शुक्रवारको सुनुवाइपछि प्रतिवादी उपसचिव प्रमोद नेपाललाई दोषी ठहर गर्ने फैसला भएको छ ।
प्रमोद नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।
बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो ।