महोत्तरी, ६ माघ । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आगामी सोमवार जनवरी २२ तारेख)का दिन हुन लागेको भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर अहिले महोत्तरी सदरमुकाम जलेश्वर राममय भएका छन ।
जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको हो ।
त्यसैगरी जलेश्वरको प्रत्येक प्रतिष्ठान र घर परिवारमा अहिले ‘राम आँयेगें’ बोलको गीतले गुञ्जिएको छ ।
यसैबीच राम मन्दिरमा हुन लागेको भगवान रामचन्द्रको प्राण प्रतिष्ठालाई लक्षित गर्दै जलेश्वर नगरपालिकाले आउँदो सोमवार नगभरिका सबै घर, मठ, मन्दिर, उद्योग, व्यापार, व्यवसाय, पसल, कलकारखाना र नगरभरिका सम्पूर्ण दोबाटो, चौबाटो तथा चोक चोकमा दीप प्रज्वलन गर्न नगरवासीलाई आग्रह गरेका छन ।
नगरप्रमुख सुरेश साह सोनारले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नगरवासीमा राम भगवानको प्राण प्रतिष्ठाको दिन खुसियाली मनाउन आग्रह गरेका बताए ।
साथै जलेश्वर नगरपालिकाद्वारा आउँदो सोमवार जलेश्वर नगरपालिका क्षेत्रभित्र माछा, मासु र मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।