काठमाडौं, १७ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल सुरु भएको छ ।
पुस २३ गते उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् । मंगलवार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रदेशमा दलहरुको मतभार र विदा हुन लागेका सदस्य संख्याबारे आज सामान्य छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताए ।
छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ । एक सदस्य भने मन्त्रीपरिषद्को सिफरिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।