जनकपुरधाम, १ पुस । जनकपुरधाममा आईतवार डोला ल्याई राम र जानकीको स्वयम्बर सम्पन्न भएको छ ।
जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा दिउँसो राम र सीताको स्वयम्बर गरिएको छ । राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाकी किर्तन, बाजागाजासहितको लस्कर बाह्रविघाम मैदानमा पुगेपछि स्वयम्बर गर्ने परम्परा रहेको छ ।बाह्रविघाम मैदानमा डोला फेर गरी भएको रामसीताको स्वयम्बर हेर्न हजारौँको संख्यामा यसवर्ष पनि श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । बाह्रविघामा स्वयम्बरपश्चात निस्केको दुवै डोल जनकपुरधामको नगर परिक्रमा गरी जानकी मन्दिर पुगेको छ ।
जानकी मन्दिरमा साँझदेखि विवाहको काज आरम्भ हुने छ । मिथिलाको वैदिक परम्पराअनुसार रातभर विवाहको कार्यक्रम चल्ने छ । त्यहाँ सुमधुर गीतसंगीत, झाँकीकीर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम गर्ने गरिन्छ ।विवाहको काजमा मैथिलानीहरूले जन्तीलाई थरी थरीका गाली गीतले स्वागन गर्ने गर्दछन् । सबै रमाइलो गर्दछन् । विवाह कार्यक्रम हेरेर आनन्द लिन जानकी मन्दिरमा हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।
त्रेता युगमा भगवान राम र आदर्शनारी सीताबिच आजकै दिन जनकपुरमा विवाह भएको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको छैठौं दिन अर्थात मुख्यदिन आज विवाह रहेको छ भने भोलि राम कलेवा गरी विधिवत रूपमा विवाहपञ्चमी सम्पन्न हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए ।