काठमाडौं, २० कात्तिक। वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ । दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताएका छन् । भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । ५ नोभेम्बर -आइतबार) बिहान ७ बजेको रेकर्ड अनुसार दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखला लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च श्रेणीमा पुगेको छ ।