जनकपुरधाम, २९ असोज । बडादसैँको आज दोस्रो दिन नवदुर्गामध्ये नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै छ ।
ब्रह्मचारिणी भगवतीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने गरिन्छ । दाहिने हातमा रुद्राक्षको माला र बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।
ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीकका रूपमा पुजिन्छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।
महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको तथा महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाअर्चना गरी प्रसन्न पार्ने गरिन्छ ।
देवी ब्रह्मचारिणीको पूजाआराधना गर्न भक्तजन बिहानैदेखि विभिन्न देवी शक्तिपीठमा पुगेका छन् । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा अर्चना र आराधना गर्ने गरिन्छ ।