काठमाडौं, १४ असोज । सरकारले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
आयोगले अध्यययन गरेर सरकारलाई सुझाव सिफारिस गर्ने उनले बताइन् । उनले भनिन् – ‘सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरियो ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन भएको छ। सदस्यहरु किशोरजंग कार्की अर्थविज्ञको रुपमा, प्रेमराज जोशी गृहसँग सम्बन्धित हुनुहुन्छ र अर्को सहकुल थापा चार सदस्यीय जाँचबुझ आयोग गठन भएको छ ।
यसमा टिओआरमा, सबै कुरामा सहमति भएर आवश्यक व्यवस्थित प्रतिवेदन सरकारलाई सिफारिस गर्नुहुनेछ । मन्त्री शर्माले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको पनि बताइन् ।