काठमाडौं, २९ भदौं । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छन् । शुक्रबार नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उनले जसरी भए पनि रङ्गाशाला बनाउने बताइन् ।
सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन् । ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाईँहरू ढुक्क रहनुस्,’ मेयर दाहालले भनिन् ।
मेयर दाहालले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् ।