जनकपुरधाम, २९ भदौ । धनुषा प्रहरीले लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
बिहिबार राति क्षिरेश्वरनाथ नगरपालिका ५ जनकपुरधाम–ढल्केबर सडक खण्डमा प्रतिबन्धीत लागूऔषध गाँजा प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ढल्केवरबाट जनकपुरधामतर्फ लग्दै गरेको सुचनाको आधारमा दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ ७ बस्ने ५० वर्षीय राज कुमार महतो र वडा नं. ५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
प्रहरीले उनीहरुले बोकेको झोलाबाट ९ केजी गाँजा बरामद गरेको प्रवक्ता गौतमले जानकारी दिए ।
धनुषा जिल्ला अदालतबाट लागूऔषध मुद्दा शिर्षकमा १० दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














