जनकपुरधाम, ११ भदौ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मावलम्बीहरु मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाइरहेका छन् ।
साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको झुलनोत्सव साउन पूर्णिमा अर्थात रक्षा बन्धनको दिनसम्म चल्ने चलन छ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा राखेर झुलाइने परम्परा रहेको छ ।
जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ ।
एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ । साधु समाजमा यो पर्वको विशेष महत्व रहेको मानिन्छ ।
मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा रहेको छ ।














