काठमाडौँ, ११ भदौ । गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई गृह मन्त्रालयले पत्राचार गरेको छ ।
१७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको मृत्यु भएको थियो ।
कारबाहीको लागि सरकारमाथि दबाब बढाएपछि साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच पाँच बुँदे सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन । संघर्ष समिति र गृह मन्त्रालयबीच भएको सम्झौताअनुसार कार्यलाई अगाडि बढाउन आफुहरुको तर्फबाट पत्र पठाइसकेको उनले भने ।
त्यसको आधारमा अनुसन्धान तथा कार्यवाही प्रक्रिया अगाडि बढाइने उनले बताए । घटनामा परी घाइते भएकालाई उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय पत्र पठाउने काम भएको उनले बताए ।
गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए । घटनाको विषयमा त्यस समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएअनुसार गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।