जनकपुरधाम, २८ असार । जनमत पार्टीका मन्त्री र सांसदसहित नेताकार्यकर्ताले किसानको एक विघा जमिनमा धान रोपिएका छन् ।
महोत्तरी गाउँपालिका वार्ड–५ का कृष्ण साहको एक विघा खेतमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको छ ।
मजदुर अभावका कारण रोपाइँको हुन नसकेको जानकारी प्राप्त भएपछि नेताकार्यकर्ताले किसानको खेत पुगेर धान रोपिदिएको जनमतका केन्द्रीय उपाध्यक्ष समेत रहेका मधेशका विना विभागीय मन्त्री वसन्त कुशवाहाले बताउनुभएको छ ।पूर्व कृषि मन्त्री समेत रहेका कुशवाहा, प्रतिनिधि सभा सदस्य अनिता साह, केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डॉ. श्याम महतो लगायतले धान रोपेका हुन् ।
उनीहरुलाई खेतमा खाजा (जलखई) कृषकले खुवाएका छन् । मन्त्री कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता रहेको समेत बताए । उनले भने खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनु पर्छ ।