काठमाडौं,२२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदा भएको सम्झौता भारतको मन्त्रिपरिषमा पुगेको छ ।
औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा दुई पक्षबीच १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
त्यो सम्झौता अहिले भारतको मन्त्रिपरिषदमा पेस भएको छ । भारतको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस भएको सूचना नेपाललाई आएको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको तर्फबाट २५ वर्षको विद्युत व्यापार सम्झौता गर्ने प्रस्ताव लगिएको थियो। तर, १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले खरिद गर्ने समझदारी भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने संयुक्त पत्रकार सम्मेलनमा बताएका थिए । उनले प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भएको बताएका थिए ।