जनकपुरधाम १४ माघ । टीकापुर घटनामा दोषी पाएर जेल सजाय भोगि रहेका रेशम चौधरीलगायतको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीले अडान कायम राखेको छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म आफूहरु संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने बताएकी छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी अहिलेसम्म सरकारमा सहभागी भएको छैन । सुदूरपश्चिम प्रदेशमा पनि यो पार्टीले सभामुख निर्वाचनमा तटस्थ बसेको छ ।
त्यहाँ मुख्यमन्त्रीलाई विश्वासको मतका लागि यो पार्टीले आफ्ना सर्तहरु पूरा हुनु पर्ने माग राखेको छ । आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि उनले जिकिर गरेकी छिन् ।