जनकपुरधाम २७ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा))को संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रदेशसभामा रहेका नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ र स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह एवम् अनिरुद्ध सिंहसहित कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
प्रदेशसभामा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पर्नेमा ६३ जनाको समर्थनमा यादवको दाबी पेश भएको थियो । सोही अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री यादवको सपथ बिहीबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त यादव बाराको १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।