काठमाडौं २५ असोज । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको हो ।
७ भदौ २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा हिंसात्मक झडप भएको थियो । यो घटनामा संलग्नताको अभियोग लागेका चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । तर उच्च अदालत डोटीले चौधरी र थारु दुबैलाई जन्मकैदको सजाय सुनाएको थियो ।
चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।
फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्ति उम्मेदवार भएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले दुबैको उम्मेदवारी खारेज गरेको हो ।
बर्दिया–२ का निर्वाचन अधिकृत नगेन्द्र लम्सालले निरन्तर कैदमा रहेका व्यक्ति कैदमा रहँदासम्म उम्मेदवार हुन नसक्ने कानुनी व्यवस्था भएकाले रेशमको उम्मेदवारी खारेज भएको बताए ।
रेशमविरुद्ध बर्दिया–२ का माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले र लक्ष्मणविरुद्ध कैलाली–५ का स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए । रेशम यसअघि २०७४ सालमा कैलाली–१ मा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । टीकापुर घटनामा संलग्नताको आरोपमा मुद्दा खेपिरहेका उनी फार रहेकै अवस्थामा उम्मेदवारी दर्ता गराएका थिए ।
चुनाव जितेपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीले पुर्पक्षका लागि थुनामै रहेका बेला ११ पुस २०७५ मा सांसद पदको शपथ लिएका थिए ।