पुसको अन्त्य सँगै अत्याधिक जाडो बढेको छ । जाडोका कारण गरीब तथा विपन्न परिवार र महिला तथा बालबालिकाहरु प्रभावित भएका छन् । गरीब, अति विपन्न, दलित, ज्येष्ठ नागरिक, महिला र बालबालिकाका विषयमा आवाज उठाएर राजनीति यात्रा सुरु गरेकाहरु सांसद, मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति सम्म भएका छन् । तर, उनीहरुको अवस्था जहाँको त्यहिं छ । न त कोही बोल्नेछन्, न त कोही सुन्ने नै । सांसद र मन्त्रीहरु जाडोयाममा मन्त्रालय र क्वाटरमा बसेर हिटर तापिरहेका छन् । यता, गरिबीको पीडा खेपिरहेकाहरु आगो समेत बाल्न पाएका छैनन् ।
व्यापक रुपमा जाडो बढेपनि कुनै सरकारले जनताको समस्यामा चासो देखाएका छैनन् । केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले हालसम्म कुनै पहल थालेका छैनन् ।
पुस २२ गते प्रदेश सरकारले प्रदेशभरिका सबै जिल्लालाई विपद् व्यवस्थापन न्युनिकरण गर्न आठ-आठ लाख रुपैंया प्रदान गर्ने बताएको थियो । तर, सो काम प्रदेश सरकारको प्राथमिकतामा परेको छैन । प्रदेश सरकारले अहिलेको अवस्थामा जाडो छेल्ने बस्त्र विवतरणलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ । यो आवाज गरीब, दलित र असहायहरुको हो । तर, उनीहरुको आवाज सुन्ने कोही छैन । जसोतसो जाडोयाममा उनीहरु जिविकोपार्जन गरिरहेका छन् ।
यता, स्थानीय सरकारले पनि आआफ्ना नगरभित्रका सबै वडाहरुमा जाडोबाट जनताहरुले राहत महसुस गर्ने किसिमका कार्यक्रम संचालन गर्नुपर्ने हो । पालिकाले समग्रमा सबै वडालाई र वडाले वडाबासीलाई जाडोमा शरिर न्यानो बनाउने खालका कपडा वितरण गर्नु पर्ने हो । तर, चासो भने कसैले देखाएका छैनन् ।
त्यत्तिमात्रै नभएर बाक्लो हुस्युले गर्दा सवारी दुर्घटना तीव्र भइरहेको छ । जाडोका कारण प्रत्येक वर्ष व्यापक रुपमा जनधनको क्षति हुने गर्दछ । प्रत्येक वर्ष मंसिर लागेपछि जाडो महसुस हुन थाल्दछ ।














