काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबैभन्दा ठूलो सम्पत्ति नैतिक पुँजी र राजनीतिक विरासत भएको बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विरासतलाई कायम राख्नुपर्ने बताए।
थापाले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवन पारदर्शी हुनुपर्ने उल्लेख गर्दै सरकारले चाहे आफूविरुद्ध पनि अनुसन्धान गर्न सक्ने बताए। पार्टीका कुनै पनि सदस्यले सभापतिकै कारण शिर झुकाउनुपर्ने अवस्था आउन नदिने उनको प्रतिबद्धता थियो।
उनले कांग्रेसका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रह राखिएको आरोप लगाउँदै अन्यायविरुद्ध आवाज उठाउन र गलत कामको भण्डाफोर गर्न पार्टी पंक्तिलाई आग्रह गरे।














