काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै देशभर करिब १ लाख १० हजार क्रियाशील सदस्यताको विवरण अद्यावधिक गरेको छ।
मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारीस्वरूप वडा, नगर, क्षेत्र र केन्द्र तहसम्म सदस्यता अद्यावधिक गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए। यसअघि पार्टीमा करिब डेढ लाख क्रियाशील सदस्य रहेका थिए।
उनका अनुसार महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।
महाधिवेशनअघि ७६ जिल्ला र पाँच प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट चयन हुने प्रतिनिधिमध्ये कम्तीमा एक जना ४० वर्षमुनिका युवा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको नेता केशव श्रेष्ठले बताए।














