काठमाडौं, १३ मंसिर । तुइनखोलामा पहिरो नियन्त्रणको काम अघि बढाउन नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
तुइनखोलामा निरन्तर पहिरो खस्ने समस्या समाधान गर्न सडक डिभिजन कार्यालय भरतपुरले नेलिङ, होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ प्रविधिबाट काम गर्न लागेको हो।
सडक डिभिजनका अनुसार पहिरो नियन्त्रणका लागि कम्तीमा १५ दिन लाग्न सक्नेछ। यसअघि असोजदेखि रोकिएको काम पुनः सुरु गर्न लागिएको हो।
सडक बन्द रहने समयमा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्राको समय व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ। पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने सडक भने सञ्चालनमा रहने जनाइएको छ।














