काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय समिति गठन गर्न माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हिरासतमा रहेका सापकोटालाई दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोजिएको र राजनीतिक व्यक्तिहरूलाई फसाउने प्रयास भइरहेको भन्ने आरोपबारे गम्भीर प्रश्न उठाएका छन्।
उनले सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विषयले राज्यका अनुसन्धान निकायको निष्पक्षतामाथि प्रश्न खडा गरेको बताएका छन्।
आङ्देम्बेले अनुसन्धानका नाममा राज्यशक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँध्न खोज्नु लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत भएको उल्लेख गरेका छन्। उनले प्रकरणको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।
साथै, राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने माध्यम बन्न नहुने भन्दै उनले सरकारलाई संविधान र कानुनी शासनअनुसार अघि बढ्न आग्रह गरेका छन्।














