सुर्खेत, १२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गर्ने भएका छन्। मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम तय भएको छ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन्। ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
मंसिर ८ गतेदेखि नै केही खेल सञ्चालनमा आइसकेका छन्। प्रतियोगिताको समापन मंसिर २७ गते हुनेछ। कर्णालीमा पहिलोपटक आयोजना भइरहेको प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा हुनेछन् भने पूर्वाधार अभावका कारण केही खेल बाँके र बर्दियामा सञ्चालन गरिएका छन्।
यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइट जडान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। रातिको समयमा समेत खेल सञ्चालन गर्न सकिने गरी फ्लडलाइट जडान गर्न लागिएको उनले बताए।
त्यस्तै, कर्णालीमा २५ देखि ३० करोड रुपैयाँको लागतमा कभर्डहल निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए। क्रिकेट रङ्गशाला निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको पनि उनले बताए।
प्रतियोगिताको उद्घाटन समारोहमा कर्णालीका मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राखिने आयोजकले जनाएको छ। प्रतियोगिताले कर्णालीमा खेलकुद पूर्वाधार विस्तार र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।














