काठमाडौं, १२ मङ्सिर । नेपाली कांग्रेसले सरकारको उदासीनताका कारण मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको र आम नागरिकको जनजीविका सङ्कटमा परेको निष्कर्ष निकालेको छ।
मङ्सिर ८ देखि ११ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले महँगीका कारण नागरिकको भान्सा प्रभावित भएको, साना व्यवसायीले व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत कठिनाइ भोगिरहेको बताए।
उनले बजार चलायमान हुन नसकेको, निजी क्षेत्रको आत्मविश्वास घटेको, वैदेशिक रोजगारीमा जाने युवाले सास्ती खेप्नुपरेको तथा किसान, श्रमिक र सहकारी पीडितका समस्या समाधान हुन नसकेको उल्लेख गरे।
महामन्त्री पौडेलले गलत काम गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने भए पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुनुपर्ने बताए। पक्राउपछि प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरणमा नकारात्मक असर पार्ने उनको भनाइ थियो।
उनले नागरिकलाई डर र त्रास नभई आँट र भरोसा आवश्यक रहेको बताउँदै सुशासनका लागि संस्थागत सुधार र प्रभावकारी प्रणाली निर्माणमा जोड दिए।














