काठमाडौं, ९ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई रुटमा सहमति जुट्नु नेपालको महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन्।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा १०–१२ वर्षदेखिको प्रयासपछि काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति भएको जानकारी दिए। यसबाट उडान समय, दूरी र इन्धन खर्च घट्ने तथा भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा सहजता आउने उनको भनाइ छ।
वाग्लेले भारत भ्रमणका क्रममा घोषणा भएको २ खर्ब ४० अर्ब रुपैयाँको आर्थिक प्याकेजमध्ये ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब सहुलियतपूर्ण ऋण रहेको बताए। उक्त ऋण भारतीय रुपैयाँमै लिन र भुक्तानी गर्न सकिने व्यवस्था पनि भएको उनले जानकारी दिए।
त्यस्तै, सुनकोसी–सप्तकोसी उच्च बाँध आयोजना नयाँ सम्झौता नभई सन् २००४ देखिकै संयुक्त अध्ययन प्रक्रिया रहेको स्पष्ट पार्दै भारतले नेपालको भूमि खरिद गरेको भन्ने हल्ला निराधार भएको बताए।














