काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ।
समानान्तर महाधिवेशनका लागि गठित विधान मस्यौदा समितिले सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित पदाधिकारी थप्ने प्रस्ताव तयार पारेको हो।
उक्त मस्यौदामाथि चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकले अन्तिम निर्णय गर्ने तयारी गरेको एक नेताले बताएका छन्। कुन पदमा कति संख्या थप्ने भन्ने विषयमा बैठकबाट टुङ्गो लाग्ने जनाइएको छ।
यसअघि गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाएको थियो।
यसैबीच, देउवा पक्षको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना हुने भएको छ। निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले बैठकमा महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका छन्।














