काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालको सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड र आन्तरिक ऋण १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।
त्यस्तै, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि छुट्याइएको ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँमध्ये चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।
प्रतिवेदनअनुसार ऋण भुक्तानीमा आन्तरिकतर्फ १ खर्ब १९ अर्ब १८ करोड र वैदेशिक ऋणतर्फ २१ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ।














