जनकपुर, ४ मंसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको सामुदायिक शिक्षा सुधार गर्न स्थानीय तह, विद्यालय र समुदायले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
शुक्रबार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सार्वजनिक र निजी शिक्षाबीचको विभाजनले शैक्षिक असमानता बढाएको बताए।
यादवले गाउँपालिका तथा नगरपालिकाले विद्यालयको स्वामित्व र जिम्मेवारी नलिएसम्म सामुदायिक शिक्षाको अवस्था सुधार हुन नसक्ने धारणा राखे। साथै, प्रधानाध्यापकलाई जिम्मेवार र सक्षम बनाउन तथा शिक्षकको सम्मान र मर्यादा कायम गर्नुपर्नेमा जोड दिए।
उनले नेपालको शिक्षा प्रणालीमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै शिक्षक र चिकित्सकले पनि आफ्नो पेसागत नैतिकता र जिम्मेवारीप्रति आत्मसमीक्षा गर्नुपर्ने बताए।












