काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आगामी दिनमा पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन्।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले एमाले हार्नका लागि स्थापना भएको पार्टी नभएको बताए। उनले छिट्टै कानुन निर्माण र सरकार सञ्चालन गर्ने स्थानमा पुग्ने विश्वास व्यक्त गरे।
ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई विगतका कमजोरी सुधार्न र जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशनसमेत दिए।
उनले विकास निर्माण र राष्ट्रियताको संरक्षणमा एमालेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रभावकारी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।












