जनकपुर, ४ मंसिर । मधेश प्रदेशमा सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ अनुसार अघि बढाउन जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश प्रमुखमाथि दबाब दिने तयारी गरेको छ।
प्रदेशमा सरकार गठनका लागि यसअघि धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिएका थिए। तर निर्धारित समयभित्र कुनै पनि दलले सरकार गठनको दाबी पेस गर्न सकेनन्।
यसैबीच नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले उपधारा २ अनुसार नै सरकार गठनको दाबी पेस गर्न थप समय उपलब्ध गराउन प्रदेश प्रमुखसँग माग गरेका छन्।
तीन दलको सक्रियतापछि प्रदेशको सबैभन्दा ठूलो दल जसपा नेपाल भने सशंकित बनेको छ। उपधारा २ अनुसार सरकार गठनको आह्वान गर्दा पनि बहुमतको दाबी पेस हुन नसकेकाले अब संविधानको उपधारा ३ अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने जसपाको माग छ।












