काठमाडौं, ४ मंसिर । सरकारले मन्त्रिपरिषद् बैठकका सातवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन्।
बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमणलाई स्वीकृति दिएको छ। साथै, चीन सरकारबाट भोटेकोशी बाढी प्रभावितका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।
सरकारले नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी अभिलेख तयार गर्ने, जैविक विविधता संरक्षण तथा सांस्कृतिक सम्पदासम्बन्धी नीति र मापदण्ड स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्का मुख्य ७ निर्णय
1. प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत: आगामी मंसिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
2. चीनको अनुदान स्वीकार: भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा जीवनरक्षाका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने।
3. आईएमएफको सहुलियतपूर्ण ऋण स्वीकार: अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
4. सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच: देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तथा अभिलेख तयार गर्न आदेश जारी गर्ने।
5. जैविक विविधता रणनीति स्वीकृत: राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० लाई स्वीकृति दिने।
6. सम्पदा संरक्षणसम्बन्धी मापदण्ड स्वीकृत: ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि तयार गरिएको नम्स २०८३ स्वीकृत गर्ने।
7. झोलुङ्गे पुल नीति स्वीकृत: राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ लाई स्वीकृति प्रदान गर्ने।












