काठमाडौं, १८ कात्तिक । सरकारले प्रहरी महानिरीक्षक -आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की कानुनी उपचारको खोजीमा जुटेका छन् ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध उनी सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि कार्कीले आफ्नो पदमुक्तिको विषयलाई लिएर कानुनी परामर्श थालेका हुन् ।
कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने विषयमा अधिवक्ता स्वागत नेपालसँग छलफल गरेका छन् । अधिवक्ता नेपालका अनुसार कार्कीले अब के गर्ने भन्ने विषयमा परामर्श मागेका थिए ।
त्यसक्रममा आफूले कानुनी लडाइँमा जानुको विकल्प नरहेको सुझाव दिएको उनले बताएका छन् ।
सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएमा उनको पदमुक्तिको वैधानिकता र मन्त्रिपरिषद्को निर्णयको विषय न्यायिक परीक्षणमा जानेछ । यद्यपि, रिट दर्ता तथा अदालतको निर्णयबारे औपचारिक जानकारी आउन बाँकी छ ।














