काठमाडौं, १८ कात्तिक । अस्ट्रेलियाका आक्रामक अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विश्राम दिएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका म्याक्सवेल ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट क्षमता भएका खेलाडीका रूपमा परिचित छन् ।
अस्ट्रेलियाका लागि उनले सात टेस्ट, १४९ एकदिवसीय र १३० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय क्रिकेटमा ३ हजार ९९० रन बनाएका उनको स्ट्राइक रेट १२६.७ रहेको छ । त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमा उनले २ हजार ८९७ रन बनाएका छन् । आक्रामक ब्याटिङका कारण चर्चित म्याक्सवेलले आफ्नो करियरमा थुप्रै अविस्मरणीय प्रदर्शन गरेका छन् ।
तीमध्ये सन् २०२३ को विश्वकपमा अफगानिस्तानविरुद्ध बनाएको अविजित दोहोरो शतकलाई उनको उत्कृष्ट प्रदर्शनमध्ये एक मानिन्छ । सन् २०२३ को एकदिवसीय विश्वकपअन्तर्गत मुम्बईमा भएको अफगानिस्तानविरुद्धको खेलमा म्याक्सवेलले असाधारण ब्याटिङ गरेका थिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले इब्राहिम जद्रानको शतकको मद्दतमा पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको अस्ट्रेलियाले सुरुवातमै लगातार विकेट गुमायो ।
म्याक्सवेल क्रिजमा पुग्दा अस्ट्रेलिया ४९ रनमा पाँच विकेट गुमाएको अवस्थामा थियो । पछि टोलीको अवस्था सात विकेटमा ९१ रन पुगेको थियो ।
तर, उनले हारको संघारमा पुगेको अस्ट्रेलियालाई शानदार पुनरागमन गराए । मांसपेशी बाउँडिने समस्याका बाबजुद म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्काको मद्दतले अविजित २०१ रन बनाए ।
उनले प्याट कमिन्ससँग आठौँ विकेटका लागि २०२ रनको अविजित साझेदारी गरे । कमिन्सले भने ६८ बलमा अविजित १२ रन बनाएका थिए ।
म्याक्सवेलको ऐतिहासिक इनिङ्सको मद्दतमा अस्ट्रेलियाले तीन विकेटले जित निकाल्दै विश्वकपमा आफ्नो बलियो उपस्थिति कायम राखेको थियो ।














