काठमाडौं, १८ कात्तिक । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार, सहयोग र सुरक्षित स्वदेश फिर्तीका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा, अधिकार र हित संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गरिन् ।
भण्डारीले नेपाल प्राकृतिक स्रोत र सम्पदाले धनी भए पनि तिनको उचित उपयोग हुन नसकेको बताउँदै जलविद्युत्, कृषि, जडीबुटी, वन पैदावार, खनिज तथा पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
उनका अनुसार प्राकृतिक स्रोतको दिगो र वातावरणमैत्री उपयोगमार्फत स्वदेशमै रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सकिन्छ ।
उनले विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई राष्ट्रिय विकाससँग जोड्नुपर्ने बताउँदै त्यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखिन् ।
त्यसैगरी, भण्डारीले नेकपा एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्दै आएको दाबी गरिन् ।














