काठमाडौं, १७ कात्तिक । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकीय इनिङ्सको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
विराटनगरका इमरान शेखले ५६, लोकेश बमले ५० तथा आन्द्रे रसेलले अविजित ५२ रन बनाए। एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली खेलाडीले अर्धशतक बनाएको यो पहिलो पटक हो।
इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए। यस्तै, रसेलले २९ बलमा ५ छक्का र २ चौकासहित अविजित अर्धशतक प्रहार गरे।
जनकपुरका बलर अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।














