काठमाडौं, १७ कात्तिक । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।
घाइतेमध्ये भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेल र फिस्टेल हेलिकोप्टरका पाइलट रहेका छन्। पाइलटको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा ठोक्किएका थिए। दुर्घटनामा भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलारा माडुको मृत्यु भएको छ।














