जनकपुर, १७ कात्तिक । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गर्दा राजनीतिक पहुँच र प्रभावका आधारमा विभेद गरिएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ।
अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार मधेश भवनको गेटअगाडि अनुहारमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन्।
अभियानका अध्यक्ष सुनिलकुमार यादवले पहुँच भएका कर्मचारीको सरुवा रोकिएको र पहुँच नभएकालाई मात्र सरुवा गरिएको आरोप लगाउँदै सरुवा प्रक्रियामा पारदर्शिता कायम गर्न माग गरे।
धर्नापछि अभियानले सातबुँदे मागसहित प्रदेशका प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा निष्पक्ष सरुवा, समान मापदण्ड लागू, राजनीतिक हस्तक्षेप अन्त्य, सरुवा रोक्नुको कारण सार्वजनिक तथा महिला र नयाँ कर्मचारीमाथिको विभेद हटाउन माग गरिएको छ।
अध्यक्ष यादवले दीपावलीअघि माग सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिँदै अन्यथा मन्त्रालय र मुख्यमन्त्री कार्यालयअगाडि थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
Coming soon full report………














