काठमाडौं, १० कात्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, उच्च शिक्षामा सहकार्य तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको अधिकार र हित संरक्षणबारे छलफल भएको हो।
भेटमा साइप्रसमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने र उनीहरूका समस्या समाधानमा सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो। साइप्रसका राजदूतले यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री पोखरेलले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) र विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारण प्रक्रियालाई सहज बनाउन मन्त्रालयले नीतिगत सुधार गरिरहेको जानकारी दिए। राजदूत भ्रीयोनिडेसले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।














