पोखरा, १० कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता अन्त्य गर्दै टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै थापाले मंसिर महिनाभर देशभरका वडा र टोलमा पुगेर मतदाताका गुनासा सुन्न र उनीहरूका प्रश्नको जवाफ दिनुपर्ने बताए।
उनले पछिल्ला निर्वाचनमा कांग्रेसबाट टाढिएका दुई लाखभन्दा बढी परम्परागत मतदाता र परिवारसँग संवाद गर्नुपर्नेमा जोड दिए। पार्टीको आन्तरिक प्रतिस्पर्धामा पछि परेका योग्य नेता कार्यकर्तालाई समेत समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई संयोजन गर्नुपर्ने उल्लेख गर्दै थापाले विगतका कमजोरी स्वीकारेर सुशासन र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए। उनले नेताहरू जनताबाट टाढिने प्रवृत्ति र पार्टीभित्रको तडकभडकपूर्ण शैली अन्त्य गर्न पनि आग्रह गरे।














