काठमाडौं, ९ कात्तिक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग -एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटप्रति उत्साह र आकर्षण थप बढाउने विश्वास व्यक्त गरेकी छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टोलीले जिते पनि त्यसको वास्तविक सफलता नेपाली क्रिकेटकै हुने बताइन् ।
उनका अनुसार एनपीएल नेपाली खेल प्रतिभा, निजी क्षेत्रको लगानी र राष्ट्रिय एकताको उत्कृष्ट उदाहरण हो ।
उनले देशका विभिन्न कुनामा रहेका प्रतिभाशाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसरले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउने र युवामा आत्मविश्वास बढाउने उल्लेख गरिन् ।
सरकारले खेलमैत्री वातावरण निर्माण गर्न सके निजी क्षेत्रले प्रतिभालाई अवसरमा रूपान्तरण गर्दै खेलकुदलाई राष्ट्रिय उत्सव बनाउन सक्ने उदाहरण एनपीएलले प्रस्तुत गरेको मन्त्री गौतमको भनाइ छ ।














