काठमाडौं, ६ कात्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अतिथि वक्ताका रूपमा सहभागी भएका छन्।
उनले सम्मेलनअन्तर्गत ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ विषयक विशेष सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।
बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकर सहभागी सत्रहरूमा पनि उपस्थित भएका थिए।
सम्मेलनका क्रममा वाग्ले र प्रधानमन्त्री मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो। त्यस्तै, विदेशमन्त्री जयशंकरसँग बदलिँदो विश्व व्यवस्थाका विषयमा प्रश्नोत्तरसमेत भएको जनाइएको छ।














