काठमाडौँ, ५ असोज । बडादसैँको अवसरमा मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ।
विजयादशमीका दिन परिवारभित्र टीका लगाएकाहरू दोस्रो दिन टाढा रहेका आफन्त तथा मान्यजनको घरमा पुगेर टीका र जमरा लगाउने तथा आशीर्वाद लिने गर्छन्। यो क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने परम्परा छ।
नेपालका केही स्थानमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश क्षेत्रमा भने पूर्णिमासम्म टीका लगाउने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नवदुर्गाको प्रसादस्वरूप कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिन्छ।














