काठमाडौँ, ५ असोज । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृत्यु भएका नेपालीको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।
तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले रोकेको मन्त्रालयले जनाएको छ। सो क्रममा तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।
मन्त्रालयका अनुसार आगलागी प्रशोधन केन्द्रको परिधिबाहिर भएकाले तेल क्षेत्रको सञ्चालनमा कुनै असर परेको छैन। घटनापछि सम्बन्धित निकायले आवश्यक कदम चालेको जनाइएको छ।














