जनकपुर, १ कार्तिक । जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजना गरिएको प्रथम जनकपुर सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८३ मा खानेकुरा तथा विभिन्न सामग्रीको मूल्य बजारभन्दा बढी राखेर बिक्री गरिएको गुनासो आएको छ।
महोत्सव अवलोकन गर्न पुगेका दर्शकले चर्को मूल्य तिर्नुपरेको र आधारभूत सुविधासमेत नपाएको गुनासो गरेका छन्। महोत्सव परिसरमा पिउने पानीको मूल्य ३० रुपैयाँ राखिएको पाइएको छ।
त्यस्तै, भगवानको तस्बिरसहितको फोटो फ्रेम बजारमा करिब २०० रुपैयाँमा पाइने भए पनि महोत्सवमा ३५० रुपैयाँमा बिक्री भइरहेको गुनासो छ। अन्य सामग्री तथा खानेकुरामा पनि बजारको तुलनामा बढी मूल्य लिइएको दर्शकको भनाइ छ।
महोत्सव प्रवेशका लागि प्रतिव्यक्ति ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ। तर, टिकट काटेर महोत्सव हेर्न पुगेका दर्शकका लागि पर्याप्त बस्ने ठाउँ र पिउने पानीको व्यवस्था नभएको भन्दै आयोजकको व्यवस्थापनमाथि प्रश्न उठाइएको छ।
मनोरञ्जनका लागि आएका सर्वसाधारणले सामान्य सुविधासमेत नपाउँदा महोत्सवको उद्देश्य र व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सांस्कृतिक कार्यक्रमका नाममा प्रस्तुत गरिएका केही नृत्य तथा गीतको शैलीलाई लिएर पनि प्रश्न उठेको छ। महोत्सवमा सांस्कृतिक प्रस्तुतिभन्दा अश्लीलतायुक्त गीतमा डान्स अर्केस्ट्रा जस्तै कार्यक्रमलाई प्राथमिकता दिइएको दर्शकको आरोप छ। सांस्कृतिक पहिचान र स्थानीय कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रमको प्रस्तुति र गुणस्तरबारे आयोजकले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवमा उचित मूल्य, स्वच्छ खानेपानी, व्यवस्थित बस्ने ठाउँ र मर्यादित सांस्कृतिक कार्यक्रमको व्यवस्था हुनु आवश्यक छ।
त्यसैले महोत्सव आयोजकले मूल्यसूची सार्वजनिक गरी उपभोक्तालाई ठगीबाट जोगाउने तथा दर्शकका लागि आवश्यक सुविधाको व्यवस्था गर्नुपर्ने माग उठेको छ।
यद्यपि, महोत्सव आयोजकको प्रतिक्रिया तथा मूल्य निर्धारण सम्बन्धी आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।














