काठमाडौं, १२ असोज । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा भएको गिरफ्तारीबारे सरकारसँग जवाफ मागेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र अस्थायी बसोबासमा सरकारले प्राथमिकता दिनुपर्ने बताए। उनले विपत्तिका बेला सरकारको ध्यान अन्यत्र केन्द्रित भएको आरोप पनि लगाए।
जबरालाई पक्राउ पुर्जीबिना मध्यरातमा पक्राउ गरिएको भन्दै दुलालले त्यसलाई कानुनी शासनसँग जोडेर प्रश्न उठाए। सुरक्षा जोखिमको कारण देखाउँदै पक्राउ गरिएको र केही घण्टामै रिहा गरिएको घटनाबारे समेत उनले सरकारसँग स्पष्टीकरण मागे।
दुलालले सरकारलाई संविधान र कानुनअनुसार शासन सञ्चालन गर्न सचेत गराएका छन्।














